हाम्रा मूल्यहरू

अनुसन्धान र विज्ञतामा आधारित विकास
टेक्सेस परियोजना अनुसन्धान र व्यावसायिक विज्ञतामा आधारित छ। यो परियोजना फिनल्यान्डको सबैभन्दा पुरानो, ठूलो र प्रतिष्ठित शैक्षिक संस्था हेल्सिन्की विश्वविद्यालयको स्वामित्वमा रहेको निरन्तर शिक्षा र विकासमा समर्पित कम्पनी एचवाई प्लस (HY+) ले कार्यान्वयन गर्दै छ। यस बलियो शैक्षिक जगका कारण टेक्सेसको कार्यपद्धतिले शिक्षा क्षेत्रमा भएका नवीनतम अनुसन्धान र सफल अभ्यासहरूलाई पछ्याउँछ।
टेक्सेस परियोजनाले नेपाल र फिनल्यान्डका शिक्षा तथा समावेशीकरण क्षेत्रका विज्ञहरूसँग निकट सहकार्य गरी नेपालका विद्यालयहरूको दिगो सुधारमा काम गर्छ।
- फिनल्यान्डका विज्ञ साझेदारहरूमा हेल्सिन्की विश्वविद्यालयअन्तर्गतको फ्याकल्टी अफ एजुकेसनल साइन्सेज, ह्याम युनिभर्सिटी अफ एप्लाइड साइन्सेजअन्तर्गतको प्रोफेसनल टिचर एजुकेसन प्रोग्राम र फिन चर्च एड रहेका छन्। (हाम्रा साझेदारहरूबारे थप कुरा यस लिङ्कमा गएर पढ्नुहोस्।)
- नेपालका साझेदारहरूमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र यस मातहतका निकायहरू, त्यसमा पनि मुख्य गरी सेवाकालीन शिक्षक तालिम, पाठ्यक्रम विकास र शैक्षिक गुणस्तर अनुगमनका लागि जिम्मेवार निकायहरू छन्। अन्य साझेदारहरूमा कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका शिक्षक तालिम केन्द्र, स्थानीय तह, विद्यालय र विश्वविद्यालयहरू रहेका छन्।
टेक्सेसले मानवअधिकारलाई केन्द्रमा राखेर काम गर्छ
टेक्सेसले आफ्ना सबै गतिविधिमा विकासका लागि मानवअधिकारमा आधारित पद्धति अपनाउँछ। यस परियोजनाअन्तर्गतका योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन लगायतका सबै काम मानवअधिकारमा आधारित रहेर गरिन्छ। त्यसैले टेक्सेसले समानता, गैरविभेद, सहभागिता र समावेशिताको सिद्धान्तहरूलाई आफ्नो आधार र उद्देश्य बनाएको छ।
प्रणालीगत रूपमै मानवअधिकारलाई समावेश गर्नाले अधिकारवाहक र कर्तव्यवाहकहरू दुवैको क्षमता अभिवृद्धि हुन्छ, सङ्कटासन्न समूहहरूलाई सहयोग पुग्छ, जवाफदेहिता बढाउँछ र दिगो परिवर्तनतर्फ डोर्याउँछ।
टेक्सेस परियोजनाले मानवअधिकारलाई केन्द्रमा राखेर काम गर्छ र सोहीअनुसार सबैका लागि समान सहभागिता, स्रोतहरूमा न्यायपूर्ण पहुँच र सबैप्रति सम्मानजनक व्यवहार सुनिश्चित गर्दै सामाजिक समावेशीकरणलाई प्रवर्द्धन गर्छ।
दिगो सहकार्यको प्रवर्द्धन
दीर्घकालीन र प्रभावपूर्ण नतिजाहरू तबमात्र सम्भव हुन्छन् जब विकासका कार्य बास्तविक साझेदारी, स्वामित्व र व्यवहारिक समाधानमा आधारित हुन्छ।
टेक्सेसले अधिकारवाहकहरूसँग मिलेर क्षमता र आवश्यकताहरूको मूल्याङ्कन गर्छ, सहभागितामूलक ढङ्गले साझा लक्ष्य र नतिजाका मापदण्डहरू तय गर्छ।
नेपाली परिवेशअनुसार शिक्षक शिक्षामा सुधार गरी भविष्यको पुस्ताको लागि दिगो विकासको बाटो खोल्न व्यवहारिक साधन र स्रोतहरू उपलब्ध गराउन टेक्सेस प्रतिबद्ध छ।