प्रदेश स्तरका कार्य
टेक्सेस परियोजना सिकाइ प्रतिफलको स्तर सबभन्दा न्यून र विद्यालय छाड्ने दर उच्च रहेका तीनवटा प्रदेश - कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशमा सञ्चालित छ।
परियोजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न यी तीनै प्रदेशमा परामर्श भ्रमणहरू गरिएका छन्। ती परामर्शमा प्रदेशस्तरका मन्त्री र पदाधिकारी, प्रदेश शिक्षा तालिम केन्द्रका कर्मचारी र विश्वविद्यालयका प्रतिनिधिहरूसँग परियोजनाका गतिविधिहरूलाई कसरी स्थानीय शैक्षिक प्राथमिकतासँग मेल खाने बनाउन सकिन्छ भन्नेबारे छलफल गरिएको थियो। सन् २०२५ फेब्रुअरीमा टेक्सेसले कर्णाली प्रदेशमा एउटा कार्यशाला आयोजना गरेको थियो।उक्त कार्यशालामा कर्णाली प्रदेश सरकार, स्थानीय तह, विश्वविद्यालय, विकास साझेदार र विद्यालयका प्रतिनिधिहरू सहभागी भएका थिए। सो कार्यक्रममा शिक्षक शिक्षाका सम्बन्धमा ज्ञानको आदानप्रदानका साथै सहकार्य प्रवर्द्धनसम्बन्धी छलफल भएको थियो।
प्रदेशस्तरको समन्वयमा सुदृढीकरण
टेक्सेसका कर्णाली, सुदूरपश्चिम, र मधेश प्रदेशमा स्थापना गरिएका परियोजना कार्यालयहरूले सामाजिक विकास मन्त्रालयमार्फत मानवस्रोत विकास केन्द्र, प्रदेश शिक्षा तालिम केन्द्र र शिक्षा विकास निर्देशनालय लगायतका प्रमुख सरकारी निकायहरूसँग सहकार्य गर्छन्। परियोजनाले समावेशी र गुणस्तरीय शिक्षण प्रवर्द्धनका लागि प्रदेश शिक्षा तालिम केन्द्र र सहभागी विद्यालयहरूको क्षमता अभिवृद्धिमा सहयोग गर्छ। टेक्सेसका प्रदेश टोलीहरूले प्रविधिक र सुपरिवेक्षण सहयोग प्रदान गर्छन्, र सबै गतिविधिहरू प्रदेशको विद्यालय शिक्षा क्षेत्र योजना, वार्षिक कार्य योजना, र बजेटअनुसार अघि बढ्ने सुनिश्चित गर्नेछन्।
टेक्सेसले प्रदेश शिक्षा तालिम केन्द्रहरूलाई पनि प्राविधिक सहयोग प्रदान गरी शिक्षक शिक्षासम्बन्धी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालनका लागि आवश्यक पर्ने सीप र स्रोतहरू विकास गर्न मद्दत गर्छ। सफल रणनीति र उत्कृष्ट अभ्यासहरूलाई आवश्यक परिमार्जन गरी परियोजनाको प्रत्यक्ष कार्यक्षेत्रमा नपरेका अन्य प्रदेशहरूमा पनि विस्तार गर्न सकिनेछ।

समावेशी शिक्षा र डिजिटल तालिम
टेक्सेसले समावेशी शिक्षा सम्बन्धी सेवाकालीन तालिम कार्यक्रम कार्यान्वयनमा सहयोग गर्दैछ, जसको सुरुवात कर्णाली प्रदेशबाट हुनेछ र पछि सुदूरपश्चिम र मधेश प्रदेशमा विस्तार गरिनेछ। पहिलो वर्षमा, शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको सहकार्यमा प्रदेश शिक्षा तालिम केन्द्रका प्रशिक्षकहरूलाई तालिम दिएर शिक्षक तालिमका लागि क्षमता विकास गरिनेछ। दोस्रो वर्षमा यो तालिम कार्यक्रम स्रोत शिक्षक र आधारभूत तहका शिक्षकहरूसम्म विस्तार गरिनेछ। कार्यक्रमको कार्यान्वयनबाट प्राप्त अनुभव र आवश्यक सुधारहरूको आधारमा यस तालिमलाई सुदूरपश्चिम र मधेश प्रदेशमा विस्तार गरिनेछ।
हाम्रो कर्णालीस्थित प्रदेश टोलीले मानव स्रोत विकास केन्द्रलाई प्रदेश डिजिटल तालिम केन्द्र स्थापना गर्न सहयोग गर्नेछ, जसले कर्णालीका १० वटा नेतृत्वदायी विद्यालयहरूमा डिजिटल तालिम क्षमता वृद्धि गर्न सहयोग पुर्याउनेछ। यस टोलीले शिक्षा विकास निर्देशनालयलाई पनि शिक्षकहरूको व्यवस्थित वृत्ति विकास प्रणाली निर्माण र बालिका तथा समावेशी शिक्षा सञ्जालमार्फत लैङ्गिक संवेदनशील र समावेशी शिक्षण तथा सिकाइको प्रवर्द्धन गर्न सहयोग गर्नेछ।